७ आश्विन २०८१, सोमबार | September 24, 2024

नेपालबाट भैँसीको मासु लैजान चीन तयार



काठमाडौं । नेपालबाट भैँसीको मासु आयात गर्न चीन तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका बेला भएको प्रतिनिधिमण्डलस्तरीय बैठकमा उक्त सहमति बनेको हो ।

नेपाल र चीनका तर्फबाट मंगलबार बिहान जारी संयुक्त बिज्ञप्तिमा समेत यो विषय समेटिएको छ । चीनको भन्सारको सामान्य प्रशासन र नेपालको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच उक्त सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

पकाएको भैँसीको मासु नेपालबाट आयात गर्न स्वीकृति प्रक्रियालाई तीव्रता दिन चीन तयार भएको विज्ञप्तिमा उल्लेख छ । यसले नेपालको व्यापार घाटा कम गर्ने विश्वास नेपाल र चीनले व्यक्त गरेका छन् ।

नेपाली उत्पादन चीन निर्यातका लागि सहजीकरण गर्न चीन सक्रिय कदम चाल्न तयार रहेको समेत संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १ : १२ बजे