४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

भारतलाई झट्का, विश्वकपको पहिलो खेलअघि शुभमन गिल अस्वस्थ



काठमाडौँ । आइसीसी एकदिवसीय विश्वकपमा आफ्नो पहिलो खेल खेल्नुअघि भारतीय टोलीलाई ठूलो झट्का लागेको छ । भारतीय टोलीका ओपनिङ ब्याट्सम्यान शुभमन गिलको स्वास्थ्य बिग्रिएको छ । उनी अष्ट्रेलियाविरुद्धको खेलमा खेल्न नसक्ने सम्भावना बढेपछि भारतीय टिम मुश्किलमा परेको हो ।

भारतले आइतबार अस्ट्रेलियाविरुद्ध खेल्दै विश्वकपको शुरुवात गर्दै छ । यस खेलमा गिल आउट भएमा उनको ठाउमा इशान किशन र रोहित शर्माले ओपनिंग गर्न सक्छन् ।

पछिल्लो समय एकदिवसीय क्रिकेटमा भारतका सबैभन्दा प्रख्यात ब्याट्सम्यान गिललाई उच्च ज्वरो आएको र यस विषयमा अन्तिम निर्णय हुनुअघि शुक्रबार डेंगुको परीक्षण गरिने बताइएको छ । चेन्नई पुगेदेखि गिललाई उच्च ज्वरो आएको र उनको परीक्षण भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आज उनको थप परीक्षण हुने र आइतबारको खेलमा उनको सहभागिताबारे निर्णय लिइने भएको छ ।

 

गिल यो वर्ष उत्कृष्ट फर्ममा रहेका छन् । उनले यस बर्ष एकदिवसीय क्रिकेटमा एक हजारभन्दा बढी रन बनाएका छन् जसमा एक दोहोरो शतक पनि समावेश छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  १ : ०२ बजे