७ आश्विन २०८१, सोमबार | September 23, 2024

सरकारले आइतबारदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने



सरकारले भोलि (आइतबार)देखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ । दशैं तथा तिहारलाई लक्षित गरी सरकारले भोलिदेखि सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको हो ।

साल्ट ट्रेडिङ कर्पोरेशन, नेपाल खाद्य संस्थान, नेशनल ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानको सहकार्यमा सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको हो ।

सुपथ मूल्यका पसल उपत्यकाभित्र र बाहिर गरी देशभरका ४२ जिल्लाका ४८ स्थानमा सञ्चालन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल सञ्चालन गरिने छ ।  काठमाडौं उपत्यकाबाहिर ४२ जिल्लाका ४८ स्थानमा सहुलियतपूर्ण पसल रहनेछन् ।

सचिवालयका अनुसार सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ ।

साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ ।

दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ३ : १० बजे