३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नवलपरासीबाट साढे नौ लाख बराबरको पटाका बरामद



नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम बाट सशस्त्र प्रहरीले ठूलो मात्रामा पटका बरामद गरेको छ । सशस्त्र प्रहरीको परासी स्थित कमान्ड पोस्टको टोलीले रामग्राम १२ कुनुवार बाट प्रदेश ३ ००१ च ११३८ नम्बरको पिकअप र चालक सहित साढे ९ लाख बराबरको पटका नियन्त्रणमा लिएको हो ।

भारतबाट महेसपुर भन्सार नाका हुँदै भित्र्याइएको पटका बिक्रीका लागी लाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी नायव उपरिक्षक यज्ञमान साउदले जानकारी दिनुभयो । कमान्ड पोष्टका सशस्त्र प्रहरी निरीक्षक केशव भट्टराईको कमान्डमा रहेको टोलीले तीव्र गतिमा रहेको पिकअपलाई शङ्का लागी चेकजाँच गर्ने क्रममा पटाका फेला परेको डिएसपी साउदले बताउनुभयो ।

बरामद पटका प्रहरीले आजै नष्ट गरेको छ भने पिकअप जिपलाई महेसपुर भन्सार कार्यालयमा बुझाइएको छ । सवारी चालक पाल्हीनन्दन ३ का सुनिल गुप्तालाई प्रहरीले नियन्त्रणमा लिए पनि उनी पछि भाग्न सफल भएका छन् ।

चाडपर्व नजिकिएसँगै भारतबाट पटका लुकाइछिपाई भित्र्याउने र विभिन्न शहरमा बिक्रीका लागी लाने गरिएकाले प्रहरीले चेकजाँच बढाएको छ । सशस्त्र प्रहरीले चाडपर्वलाई लक्षित गरेर सिमावर्ती क्षेत्रमा निगरानी बढाएको सशस्त्र प्रहरी उपरिक्षक धिरेन्द्रराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ५ : १२ बजे