३१ भाद्र २०८१, सोमबार | September 16, 2024

रियल हिराे विपिनलाई हमासले लग्याे, सरकारले जसरी भए पनि बचाओस्’



इजरायलमा हमास समूहको आक्रमणपछि सम्पर्कविहीन नेपाली विद्यार्थी विपिन जोशी अपहरणमा परेको आशंका गरिएको छ । इजरायलबाट हवाई उद्धार गरी स्वदेश ल्याइएका नेपाली विद्यार्थीहरूका अनुसार जोशी हमास समूहको अपहरणमा परेका छन् ।

यद्पि सरकारले यसबारे ठोस जानकारी दिन सकेको छैन । जोशी सम्पर्कविहीन रहेको र उनको खोजी भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए । ‘आक्रमणमा परी सम्पर्कविहीन हुनुभएका विपिन जोशीको खोजी निरन्तर जारी छ’, उनले भने, ‘यस विषयमा थप जानकारी प्राप्त हुनासाथ जानकारी गराउनेछौँ ।’

इजरायलबाट नेपाल फर्केकी नेपाली विद्यार्थी बिबुशा अधिकारीले जोशीलाई हमास समूहले लगेको बताएकी छन् । उनका अनुसार सुरुमा हमासले हानेको ग्रिनेड जोशीले टिपेर उतै फालिदिएका थिए ।

‘१७ जना नेपाली बसेको कोठामा आएको ग्रिनेड जोशीले नफालेको भए सबै जना बच्ने थिएनन्’, उनले भनिन्, ‘साथीहरूलाई बचाउने रियल हिरोलाई जसरी भए पनि सरकारले बचाउनुपर्छ ।’

उनका अनुसार विपिन बसेको फर्मबाट छ जना बच्न सफल भए भने बाँकी नेपाली विद्यार्थीको निधन भयो । विपिन सम्पर्कविहीन छन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : ४८ बजे