५ आश्विन २०८१, शनिबार | September 21, 2024

रिगललाई आममाफी दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर, तत्काल पक्राउ गर्न परमादेश



सर्वोच्च अदालतले चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय ताेकिए पनि सरकारबाट आममाफी पाएका योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ।

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्ने आदेश जारी गरेको हो । राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको हाे ।

रिगलमाथि २०७२ सालअसार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । साे अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । उक्त घटनामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरेर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।

तर, नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आम माफी दिएका थिए । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आबद्ध थिए ।  जसको सर्वत्र आलोचना भएको थियो ।

पति चेतनको हत्यारालाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन् । साथै उनले माइतिघर मण्डलामा अनशन पनि थालेकी छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ४ : ०३ बजे