६ आश्विन २०८१, आइतबार | September 22, 2024

नेपालको अर्थतन्त्र १० खर्ब डलर पुग्न सक्छ : गभर्नर अधिकारी



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र १० खर्ब डलर पुग्न सक्ने बताएका छन् ।

बिहीबार नेपाल बैंकर्स संघले आयोजना गरेको एसियाली बैंकर्सहरूको सम्मेलन ‘एबीए कन्फ्रेन्स’मा बोल्दै यस्तो बताएका हुन् ।

उनले नेपालको आर्थिक वृद्धि पछिल्लो १० वर्षयता औसत चार प्रतिशत भएको भन्दै लगानीको अवस्था हेर्दा अर्थतन्त्र १० खर्ब डलर पुग्न केही समय लाग्ने बताए ।

“हाम्रो अर्थतन्त्र पनि १० खर्बको हुन सक्छ । तर, केही वर्ष लाग्न सक्छ,” गभर्नर अधिकारीले भने, “नेपालको अर्थतन्त्रले माथिल्लो तहको एकल अंककै वृद्धि गर्न सक्छ । ७२ सालको भूकम्पपछि लगातार नेपालको वार्षिक आर्थिक वृद्धि आठ प्रतिशतले बढ्यो ।’

सरकारले लगानीमैत्री वातावरण बनाउँदै लगेकाले अर्थतन्त्रको आकार पनि बढ्दै जाने उनको भनाइ छ । सम्मेलनमा सहभागी बैंकर्सहरूलाई नेपालमा लगानी बढाउन पनि अधिकारीले आग्रह गरे । नेपालको हाइड्रो र पूर्वाधारमा लगानी गर्दा अथाह सम्भावना भएकाले त्यसको फाइदा लिन पनि उनले आग्रह गरे ।

सम्मेलनमा १८ देशका ६३ जना सीईओहरू सहभागी छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ५ : २३ बजे