६ आश्विन २०८१, आइतबार | September 23, 2024

ब्राजिल र अर्जेन्टिनी फ्यान खेल सुरु हुनुअघि नै किन भिडे मैदानमा?



विश्व फुटबलमा ब्राजिल र अर्जेन्टिना सर्वाधिक ठूलो नाम हो। फुटबलका यी दुई हस्ती दक्षिण अमेरिकी क्षेत्रमा मात्र होइन, सिंगो विश्वमा नै फुटबलमा सर्वाधिक धेरै समर्थक भएका टिम हुन्।

यी दुई टिमको प्रतिस्पर्धा समर्थकका लागि संधै बहुप्रतीक्षित रहन्छ। जहिले जहिले ब्राजिल र अर्जेन्टिना भिड्छन, विश्वभर यी दुई देशका समर्थक एक अर्काप्रति तिखो टिप्पणी गर्ने गर्छन्।

ब्राजिल र अर्जेन्टिनाका खेलाडीहरू जति मित्रवत छन् तर उनीहरूका समर्थक विश्वभर नै कट्टर छन्। त्यसकै परिणाम २०२६ को विश्वकप छनोटअन्तर्गत अर्जेन्टिना र ब्राजिलबीच नेपाली समय अनुसार बुधबार बिहानको खेल समर्थकको झगडाकै कारण आधा घण्टा सार्नु पर्‍यो।

ब्राजिलको रियो दि जेनेरियोस्थित ‘माराकाना रंगशाला’मा खेल सुरु हुनुअघि दुई देशका समर्थकहरूबीच कुटाकुट भएपछि खेल आधा घन्टा अवरुद्ध भएको हाे। एक ब्राजिलियन समर्थकले अर्जेन्टिनी समर्थकमाथि मुक्का प्रहार गरेसँगै दुई पक्षबीच झडप सुरु भएको थियो, जसलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज नै गर्नु पर्‍याे।

आज बिहान सवा ६ बजे खेल सुरु हुनुभन्दा केही समय अगाडि दुई देशका समर्थक समूहबीच हानाहान भयो। जब ब्राजिलियन समर्थक समूहका एक व्यक्तिले अर्जेन्टिनी समर्थक समूहका एक व्यक्तिमाथि मुक्का बर्साए। त्यसपछि दुबै समूह एक अर्का विरुद्ध भिड्न थाले। जसका कारण माराकाना रंगशाला केहीबेर तनावग्रस्त बन्यो। दुबै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिएलगत्तै फ्यानहरूबीच कुटाकुट भएको थियो।

दुई देशका समर्थकहरू कुटाकुट गर्दा केही व्यक्तिहरू घाइते समेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थितिलाई नियन्त्रण लिन मुस्किल बनेपछि प्रहरीले लाठी चार्ज गरेको थियो। समर्थकहरूबीच झगडा हुँदा ठूलो दुर्घटनाको जोखिम देखिएको थियो। तर प्रहरीले समयमा नै नियन्त्रणमा लिन पुग्दा हताहती भने हुन भने पाएन।

माहोल शान्त नबनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्ना खेलाडीसहित मैदानबाट बाहिरिएर ड्रेसिङ रुममा गएका थिए। सुरक्षाकर्मीले लाठी चार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएपछि निर्धारित समयभन्दा आधा घन्टा ढिला गरी खेल सुरु भएको थियो।

उक्त खेल अर्जेन्टिनाले १-० ले आफ्नो पक्षमा पार्‍याे। अर्जेन्टिनाका लागि दोस्रो हाफमा निकोलास ओटामेन्डीले गरेको गोल निर्णायक बनेको थियो। ६३ औं मिनेटमा ओटामेन्डीले सेल्सोको कर्नरमा आकर्षक हेड गर्दै टिमलाई अग्रता दिलाए। उक्त अग्रता नै निर्णायक बन्यो।

खेलको ८१ मिनेटमा ब्राजिल १० खेलाडीमा समेटिएको थियो। ब्राजिलका जोइलिन्टनलाई रेफ्रीले सिधा रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए।अर्जेन्टिनाका डी पललाई हातले धकेलेपछि उनलाई रातो कार्ड दिइएको थियो।

जितपछि अर्जेन्टिना शीर्ष स्थानमै छ। अर्जेन्टिनाले ६ खेलबाट १५ अंक बनाएको छ। दोस्रो स्थानको उरुग्वेको १३ अंक छ। उरुग्वेले आजै बोलिभियालाई ३-० ले हरायो। ब्राजिल भने लगातार तेस्रो हारसँगै छैटौं स्थानमा झरेको छ।

ब्राजिलको ६ खेलबाट ७ अंक छ। ब्राजिल विश्वकप छनोटको सुरुवाती दुई खेलमा जित निकालेपछिका चार खेलमा जितविहीन छ।

तेस्रो खेलमा भेनेजुएलासँग १-१ गोलको बराबरी खेलेपछि ब्राजिलले विश्वकप छनोटमा लगातार तीन खेलमा हार बेहोरिसकेको छ। दक्षिण अमेरिकाबाट २०२६ को विश्वकपका लागि ६ टिम सिधा छनोट हुँदा एक टिमले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउने छ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  २ : ०१ बजे