२ आश्विन २०८१, बुधबार | September 18, 2024

विश्वकप छनोटमा नामिबियासँग जिम्बाब्वेको लज्जास्पद हार



आइसिसी टी–२० विश्वकप क्रिकेटको अफ्रिका क्षेत्र छनोटमा नामिबियाविरुद्ध टेस्ट टोली जिम्बाब्वेले ७ विकेटको फराकिलो हार बेहोरेको छ । नामिबियाको वान्डरर्स क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन बनायो ।

उसका लागि क्रेग एर्विनले ३६, रयान बर्लले अविजित २७, कप्तान सिकन्दर राजाले २० र वासिङ्टन मसाकाजाले ११ रन बनाए । नामिबियाका लागि जजे स्मितले तीन, टांगेनी लुंगामेनीले दुई, गेर्हार्ड इरास्मस र बर्नार्ड स्कोल्ट्जले एक/एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको नामिबियाले १ सय ३३ रनको लक्ष्य १४.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि निकोलास डेभिनले उत्कृष्ट ब्याटिङ गरे

उनले ४५ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक ८९ रन बनाए । यस्तै, अर्का ओपनर माइकल भ्यान लिङ्गेनले ३० रन जोडे । जिम्बाब्वेका लागि वेलिंग्टन मसाकाद्जा, रिचर्ड नागरावा र ब्लेसिङ मुजरबानीले एक/एक विकेट लिए । यो जितपछि दुई अंकसहित जिम्बाब्वे शीर्ष स्थानमा छ ।

अंकविहीन जिम्बाब्वे छैटौँ स्थानमा छन् । अफ्रिका छनोटमा नामिबिया, जिम्बाब्वेसहित युगान्डा, केन्या, रुवान्डा, तान्जिनिया र नाइजेरियाले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ९ : ३२ बजे