४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बाबा रामदेवको पतंजलीका उत्पादन प्रश्नको घेरामा



काठमाडौं । भारतीय योग गुरु बाबा रामदेवको व्यापारिक उत्पादनहरूमा त्यहाँको सर्वोच्च अदालतले प्रश्न गरेको छ ।

आफ्ना उत्पादनहरूको प्रयोग गर्दा ब्लड प्रेसर, सुगर, थाइराइडका रोग, दम, बाथ, मोटोपन, कलेजो र मृगौलाका रोगहरू निको हुने दावी गरिरहेको पतंजलीलाई अदालतले गलत विज्ञापन नगर्न आदेश गरेको हो ।

गत मंगलवार भारतीय सर्वोच्च अदालतमा भारतीय मेडिकल एसोसिएसनले दर्ता गरेको रिट निवेदनमा सुनुवाई गर्दै अदालतले गलत तवरले रोग निको हुने दावी गरेका विज्ञापन तुरुन्त हटाउन आदेश दिंदै अन्यथा ठूलो जरिवाना गर्ने बताएको थियो ।

भारतीय संचार माध्यमहरूका अनुसार पतंजलीले सर्वोच्चको आदेशलाई मान्छु भन्ने दाबी गरेता पनि आफ्ना औषधिजन्य उत्पादनहरूले भनेजस्तै रोगहरूलाई निको पार्छ भनेर प्रेस रिलिजमार्फत् पुनः दावी गरेको छ ।

चिकित्साशास्त्रका केही आधुनिक डक्टरहरूले नक्कली पेसमेकर राख्ने, मृगौला चोर्ने, जथाभावी औषधिको प्रयोग गर्ने र गर्नै नपर्ने अनेकौं प्रकारका जाँच हरू गराएर अपराध गरिरहेको आरोप समेत पतंजलीले लगाएको छ ।

पतंजली आयुर्वेदले आफूसँग करोडौं बिरामीहरूको डेटाबेस रहेको र बिरामीहरूलाई साँच्चिकै फाइदा पुगेको प्रमाण भएको पनि जनाएको छ ।

तर, पतंजलीको प्रेस रिलिजमा एउटै उत्पादनले कुनै रोग विशेष निको पारेको भन्ने जनाएको छैन । उसले, योग, आयुर्वेद, नेचुरोप्याथी, पञ्चकर्म, सत्कर्म, व्रत तथा उपचार एकीकृत रुपमा गरिंदा धेरै बिरामी निको भएको पनि जनाएको छ ।

 

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १२ : ४० बजे