काठमाडौं । फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेस प्रदेशले केपी ओली राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०८० को उपाधि जितेको छ । घरेलु क्रिकेट प्रतियोगितामा मधेसले जितेको यो पहिलो उपाधि हो ।
शुक्रबार कास्कीस्थित पोखरा रंगशालामा सम्पन्न फाइनलमा मधेसले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १२४ रनमात्र जोड्न सक्यो ।
आर्मीका कप्तान विनोद भण्डारीले ३२ रन बनाए । विवेक यादवले २५, बसिर अहमेदले २२ रन जोड्दा सोमपाल कामी र सन्तोष कार्कीले समान १६ रन बनाए ।
मधेसका कप्तान हरिशंकर साहले चार विकेट लिए । चार ओभर बलिङ गरेका हरिशंकरले १९ रनमात्र खर्चिए । प्रदीप पासवानले दुई र प्रथिक यादवले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको मधेसले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो ।
मधेसका विशाल पटेलले ४९ रन बनाएका थिए । अर्धशतकबाट एक रनले चुकेका विशालले ३२ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । कप्तान हरिशंकर साहले २७, हिमांशु दत्तले १४ र विशाल सुस्लिङले १० रन थपे ।
आर्मीका विवेक यादव र साहब आलमले समान तीन विकेट लिए । सोमपाल कामी र बसिर अहमेदले समान एक विकेट लिए ।
समूह ‘सी’ बाट सेमिफाइनल आएको मधेसले अन्तिम–४ मा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११ रनले नै हराएको थियो । समूह ‘डी’ बाट सेमिफाइनल आएको आर्मीले भने सेमिफाइनलमा वाग्मती प्रदेशलाई चार विकेटले हराएको थियो ।
प्रतिक्रिया