६ आश्विन २०८१, आइतबार | September 22, 2024

आइपिएल अक्सनमा १०६६ खेलाडी, बिक्री होलान् नेपाली क्रिकेटर ?



१७औँ सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को खेलाडी अक्सन यही १९ डिसेम्बरमा दुबईमा हुने भएको छ अक्सनमा १ हजार १ सय ६६ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा ८ सय ३० भारतीय र ३ सय ३६ विदेशी खेलाडी रहेका छन् ।

अक्सनमा सहभागी २५ खेलाडीले आफ्नो प्रारम्भिक मूल्य नै २ करोड भारु राखेका छन् । जसमा सात अस्ट्रेलियन र चार भारतीय खेलाडी रहेका छन् ।

यस्तै, २० खेलाडीको सुरुवाती मूल्य १ करोड ५० लाख भारु रहेको छ । त्यस्तै, १६ खेलाडीले आफ्नो प्रारम्भिक मूल्य १ करोड भारु तोकेका छन् । १ हजार १ सय ५ खेलाडीले सुरुवाती मूल्य २० देखि ९५ लाख भारु राखेका छन् ।

यसपटकको आइपिएल अक्सनमा एसोसिएट राष्ट्रबाट ४५ खेलाडीको नाम दर्ता भएको छ ।

एसोसिएट राष्ट्रबाट अक्सनमा नेपाल, नामिबिया, नेदरल्याण्ड्स, स्कटल्याण्ड, यूएई र अमेरिकन खेलाडीले नाम दर्ता गराएका हुन् । आइपिएलले अक्सनमा नाम दर्ता गरेका खेलाडीको सूची भने सार्वजनिक गर्न बाँकी छ ।

आइपिएलले केही दिनमै आइपिएल अक्सनमा समावेश हुने खेलाडीको अन्तिम सूची सार्वजनिक गर्नेछ । सर्ट लिस्टमा पर्ने खेलाडीको नाम मात्र अक्सनमा सुनिनेछ । आसन्न आइपिएल अक्सनमा नेपालबाट पनि केही खेलाडीले नाम दर्ता गराएका छन् ।

दीपेन्द्र​को सम्भावना उच्च

नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, कुशल भुर्तेललगायत खेलाडीले अक्सनमा नाम दर्ता गराएका बुझिएको छ ।

अलराउन्डर दीपेन्द्र सिंह ऐरी बिक्री हुने सम्भावना बढी छ । पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेकाले उनी आइपिएलमा बिक्री हुने सम्भावना रहेको हो ।

दीपेन्द्रले यही वर्ष एसिया कप र एसियन गेम्समा भारतविरुद्ध राम्रो प्रदर्शन गरेका थिए । साथै, उनले ग्लोबल टी–२० क्यानडामा पनि अलराउन्ड प्रदर्शन गरे । अलराउन्डरको माग उच्च भएकाले पनि आइपिएल २०२४ मा दीपेन्द्रलाई देख्न पाइने सम्भावना रहेको हो ।

हालसम्म नेपालबाट स्पिनर सन्दीप लामिछानेले मात्र आइपिएल खेलेको इतिहास छ । उनी २०१८ देखि २०२१ सम्म दिल्ली क्यापिटल्समा थिए । सन्दीपले आइपिएलमा ९ खेलमा १३ विकेट लिएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  २ : २९ बजे