भारतीय संसदको कडा सुरक्षा ताेडेर बुधबार धुवाँ आक्रमण गर्ने घटनाका मुख्य अभियुक्त भनिएका ललित झाले आफ्ना एक सहयोगीसहित आत्मसमर्पण गरेका छन् ।
समाचार एजेन्सी पीटीआईले प्रहरी स्रोतलाई उद्धृत गर्दै उनीहरू दुवैले बिहीबार राति नयाँ दिल्लीको ड्युटी प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेको जनाएको छ ।
आत्मसमर्पण गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर विशेष कक्षमा बुझाएको एक अधिकारीले बताएका छन् । यस विषयमा विशेष कक्षले मात्र अनुसन्धान गरिरहेको छ ।
यस घटनामा हालसम्म सात जना पक्राउ परेका छन् । बुधबार नै पाँच जनालाई पक्राउ गरिएको हो । घटनापछि ललित झा बस चढेर राजस्थानको नागौर गएको प्रहरीले जनाएको छ । त्यहाँ उनले एक होटलमा रात बिताएका थिए ।
धुवाँ आक्रमणका समयमा ललित संसद परिसर बाहिर उपस्थित रहेको बताइएको छ ।
प्रतिक्रिया