३ आश्विन २०८१, बिहिबार | September 19, 2024

विश्वकप खेल्न नेपाली टोली आज दक्षिण अफ्रिका जाँदै



२० पुस, काठमाडौं । नेपाल यू–१९ क्रिकेट टोली विश्वकप खेल्न दक्षिण अफ्रिका जाँदैछ । नेपाल यू–१९ टोली शुक्रबार साँझ ५.३० मा कतारको दोहा हुँदै जोहानेसबर्ग पुग्ने कार्यक्रम छ । नेपालले यू–१९ विश्वकपमा आठौं पटक सहभागिता जनाउन लागेको हो । सन् २०१६ यता भने नेपाल पहिलो पटक यू–१९ विश्वकपमा खेल्न लागेको हो ।

दक्षिण अफ्रिकामा नेपालले पहिलो पटक यू–१९ विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २००० मा श्रीलंका, २००२ मा न्युजिल्यान्ड, २००४ मा बंगलादेश, २००६ मा श्रीलंका, २००८ मा मलेसिया, २०१२ मा अस्ट्रेलिया र २०१६ मा बंगलादेशमा यू–१९ विश्वकप खेलेको थियो ।

नेपालले जोहानेसबर्गमा एक साता हाइ पर्फोमेन्स क्याम्प बिताउने तथा सोक्रममा नेपालले नामिबिया र स्कटल्यान्डसँग जनवरी ९ र ११ मा गरी दुई प्रशिक्षण म्याच खेल्ने छ । अर्को दुई अभ्यास खेल नेपालले जनवरी १३ मा स्कटल्यान्ड र जनवरी १६ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने छ ।

यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुँदैछ । नेपाल समावेश समूह ‘डी’ मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् र यो समूहको सबै खेल इष्ट लन्डनमा आयोजना हुनेछ । नेपालले जनवरी २१ मा न्युजिल्यान्डसँग खेलेर प्रतियोगिताको प्रारम्भ गर्दैछ । त्यस्तै जनवरी २४ मा पाकिस्तान र जनवरी २६ मा अफगानिस्तानसँग खेल्दै छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी यू–१९ विश्वकप खेल्न जान लागेको नेपाली यू–१९ टोलीलाई बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का, सदस्य दुर्गाराज पाठकले नेपाली टोलीको बिदाइ गरेका थिए ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ४ : ०९ बजे