६ आश्विन २०८१, आइतबार | September 22, 2024

इजरायलका प्रधानमन्त्रीले भने– हमासको पतनलाई कसैले रोक्न सक्दैन



काठमाडौं । इजरायल–गाजा युद्धको एकसय दिन पूरा भएको छ । युद्धबारे बोल्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासलाई पतन गर्नबाट कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन् ।

उनले इजरायलले नरसंहार गरिरहेको भन्ने संयुक्त राष्ट्र संघको सर्वोच्च अदालतको भनाइलाई समेत नहेर्ने संकेत गरेका छन् ।

शनिबार एक प्रेस ब्रिफिङका क्रममा उनले भनेका छन्, “हामीलाई कसैले रोक्न सक्दैन । हेगले पनि सक्दैन ।”

दक्षिण अफ्रिकाले अघि सारेको नरसंहारको विषय यहुदीहरूविरुद्ध अर्को नरसंहार गर्न आएकाहरूको निर्देशनमा भएको उनको टिप्पणी छ ।

नेतान्याहुले हमाससँगको युद्ध समाप्त हुनुअघि इजिप्ट र गाजाबीचको सिमाना बन्द गर्नुपर्ने बताएका छन् ।

यसको प्रतिक्रियामा इजिप्टले आफ्नो सिमाना पूर्णरूपमा आफ्नै नियन्त्रणमा रहेको बताएको छ ।

अक्टोबर ७ मा युद्ध सुरु भएयता गाजामा करिब २४ हजार मानिस मारिएका छन् ।

राष्ट्रसंघले गाजामा भोकमरी बढेको र चिसोका कारण स्थिति झनै जटिल हुँदै गइरहेको बताएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ५ : ५९ बजे