९ आश्विन २०८१, बुधबार | September 26, 2024

राजस्व सङ्कलनको अवस्था हेर्दा देशको अर्थतन्त्र डरलाग्दो अवस्थामा छ : सांसद चौधरी



आसर-१९

नेपाली कांग्रेसका सांसद विनोदकुमार चौधरीले सरकारको राजस्व सङ्कलनको अवस्था हेर्दा देशकाे अर्थतन्त्र डरलाग्दो रहेको बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सांसद चौधरीले असार १७ गतेसम्म नाै खर्बको हाराहारीमा मात्रै राजस्व सङ्कलन हुनु र सरकारको साधरण खर्च १० खर्ब रुपैयाँभन्दा बढी हुनु गम्भीर स्थिति भएको दाबी गर्नुभयो । उहाँले सरकारले नै देशको अर्थतन्त्र चलायमान बनाउन नसकेको स्वीकार गरेकाले अर्थतन्त्र चलायमान बनाउनेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

उहाँले  भन्नुभयो, ‘सरकारको राजस्व उठ्ने तस्बिर हेर्दा अत्यन्तै डरलाग्दो छ । असार १७ गतेसम्म नाै खर्बको हाराहारीमा मात्रै उठ्नु र साधारण खर्च नै १० खर्बभन्दा बढी हुनु गम्भीर स्थिति छ ।अहिले बैंकहरूसँग निक्षेप तथा कर्जाको रेसियो ८३ प्रतिशतमा छ, न्यूनतम ९० प्रतिशत हुनुपर्छ । किन बैंकहरूले ऋण दिन सकिरहेका छैनन् ? बैंकहरूसँग ठूलो तरलता हुँदा पनि ब्याजदर किन घट्न सकेको छैन ? के हो राष्ट्र बैंकको नीति ? यी विषयमा सरकारले सरोकारवाला निकायहरूलाई पनि बोलाएर छलफल गर्नुपर्छ ।’

सांसद चाैधरीले राष्ट्र बैंकले लगाएको आयात प्रतिबन्ध खोल्ने काम भए पनि आयात बढ्न नसक्दा समग्र अर्थतन्त्र चलायमान हुन नसकेको बताउनुभयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीका कारण देशभित्र लगानी बढ्न नसकेको उल्लेख गर्नुभयो । चौधरीले वर्तमान सरकारले अर्थतन्त्र चलायमान बनाउने, लगानीमा वृद्धि गर्ने र ‘कस्ट अफ डुइङ बिजनेस’ घटाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ४ : ०७ बजे