८ आश्विन २०८१, मंगलबार | September 24, 2024

प्रेस स्वतन्त्रतालाई असर पार्ने कानून बन्दैन : मन्त्री गुरुङ



काठमाडौँ, २० साउन  :
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रेस स्वतन्त्रतालाई असर पर्ने कुनै पनि कानून नबन्ने बताउनुभएको छ ।

शनिबार यहाँ नेपाल प्रेस युनियनको आयोजना र एफइएसको सहयोगमा आयोजित ‘प्रस्तावित सूचना तथा सञ्चार विधयेक’बारे छलफल कार्यक्रममा उहाँले आफू प्रजातन्त्रवादी भएकाले पनि मिडियालाई नियन्त्रण गर्ने विधयेक र कानून बन्छ भन्ने सोच्न पनि नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मिडियाभन्दा पनि ‘सोसल मिडिया’ मा देखिएको अराजकतालाई नियन्त्रण गर्ने विषयमा छलफल भएको हो । यद्यपि मिडियालाई नियन्त्रण गर्ने छलफल भएको मलाई जानकारी छैन ।”

उहाँले यस विषयमा आफू पनि गम्भीर भएको भन्दै प्रजातन्त्र स्थापनामा मिडिया क्षेत्रको भूमिका नभुलेको बताउनुभयो । “छलफलमा भएका विषयलाई सुधार गर्न सकिन्छ । गलत हुने कुरालाई रोक्न म तयार छु”, उहाँले भन्नुभयो ।

युनियनका अध्यक्ष शिव लम्सालले छलफलबाट निस्किएको निष्कर्ष नेपाल सरकारलाई बुझाउने बताउनुभयो । उहाँले भन्नुभयो, “सुझाव लिने, समिति बनाउने तर त्यसलाई कार्यान्वयन नगर्ने देखिएको छ, त्यसलाई कार्यान्वयन गर्न जरुरी छ । पत्रकारलाई ढुक्कसाथ पत्रकारिता गर्न रोक्न बनेका कानूनलाई सरकारले परिमार्जन गर्न जरुरी छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा युनियनका सल्लाहकार तारानाथ दाहालले आमसञ्चार क्षेत्रको कानूनी सुधारका लागि नेपाल प्रेस युनियनको भूमिका विषयमा चर्चा गर्नुभयो । आयोजित कार्यक्रममा महसङ्घका अध्यक्ष विपुल पोखरेलसँगै महासङ्घका पूर्वअध्यक्षहरू हरिहर विरही, किशोर नेपाल, धर्मेन्द्र झा, नेपाल प्रेस युनियनका पूर्वअध्यक्षहरू उपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : ०३ बजे